‘लिम्बुवान, किरात’ आन्दोलनमा नागरिक समाजको ऐक्यबद्धता

लिम्बुवान नागरिक समाज यूकेकाे विज्ञप्ति ।
लन्डन । नेपालको प्रदेश नम्बर एकको नामकरणमा चलिरहेको लिम्बुवान, किरात प्रदेश पक्षधरको आन्दोलनप्रति लिम्बुवान नागरिक समाज यूकेले आफ्नो ऐक्यबद्धता जाहेर गरेको छ । प्रदेश एकको नाम पहिचानमा आधारित हुनुपर्ने भन्दै समाजले आफ्नो ऐक्यबद्धता रहेको जनाएको हो ।
‘नेपालको प्रदेश नं. १ को सरकार यतिबेला प्रदेशको नामाङकरण गर्न संसद अधिवेशन बोलाएर लागिपरिरहेको प्रति सिङ्गो देश तथा नेपाली जनताको ध्यान केन्द्रीत भएको छ । विगत एक दशकदेखि लिम्बुवान एकता र लिम्बुवान आन्दोलनको लागि विभिन्न रुपमा भूमिका निर्वाह गर्दै आएको संस्था लिम्बुवान नागरिक समाज युकेको पनि ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिक समाज युकेले अरुण–सभायखोला पूर्व मेचीखोला पश्चिमको सम्पूर्ण भूभाग ऐतिहासिक आधारमा लिम्बुवान थियो र यो भूभागलाई पुन लिम्बुवान नै कायम गर्नुपर्ने मुद्दालाई केन्द्रमा राखेर लिम्बुवानी जनजागरण कार्यक्रमहरु गर्दै आएको छ । हाम्रो बुझाईमा बर्तमान प्रदेश नं. १ को भूभागले लिम्बुवान र किरात खम्बुवानको ऐतिहासिक भूमिलाई समेटेको छ । यी दुईवटा ऐतिहासिक राज्यहरु हुन् । लिम्बुवान र किरात खम्बुवान छुट्टाछुट्टै प्रदेशहरु बन्न सक्ने आधारहरु हुँदाहुँदै पनि सत्ताधारी राजनीतिक दलहरुले यी ऐतिहासिक राज्यहरुलाई एकैठाउँमा प्रदेश नं. १ को नाममा गोलमटोल पारीदिएको छ । यो हर्कतको नागरिक समाज युकेले विरोध गर्दै आएको छ । संधै यसको बिरुद्ध नागरिक समाज युके अनवरत आन्दोलित भईरहने पनि स्पष्ट पार्न चाहन्छौं ।’ समाजले लिम्बुवान किरात संयुक्त संघर्ष समितिको सबै चरणको आन्दोलनहरुमा ऐक्यबद्धता व्यक्त गरेको छ । विज्ञप्तिमा समाजका अध्यक्ष छत्र वनेम र महासचिव लाहाङ चेम्जोङले हस्ताक्षर गरेको छ ।




Comments