लिम्बुवान नागरिक समाजको साधारण सभा सम्पन्न ।
- Chhatra Wanem
- Jan 28, 2021
- 2 min read
Updated: Nov 24, 2021
लन्डन । लिम्बुवान नागरिक समाज युकेले भर्चुल माध्यम जुममार्फत आठौँ साधारण सभा सम्पन्न गरेकोछ । जनवरी १६ तारिख सम्पन्न उक्त साधारणसभा अध्यक्ष छत्र वनेमको अध्यक्षतामा सम्पन्न भएकोहो । तीन दर्जन बढी संस्थामा आबद्ध पदाधिकारी, सदस्य लगायत आमन्त्रित अतिथिहरुको सहभागिहरुको रहेको उक्त सभामा समसामयिक् बिषयहरुमा केन्द्रित रही ब्रिहत छलफल भएको थियो । सभाले याक्थुङ लिम्बु समुदायमा धर्मको बहसले तीव्र रूप लिइरहेको बेला सबै पक्षलाई संयमित हुन अनुरोध गर्दै समन्वयकारी भूमिका खेल्न जातीय संस्था किरात याक्थुङ चुम्लुङलाई विशेष आह्वान समेत गरेको छ । शनिबार सम्पन्न उक्त साधारणसभाबाट धर्मको बहसले लिम्बुवान आन्दोलनलाई असर पु¥याउन नहुने भन्दै समाजले समुदायमा देखा परेको द्विविधालाई हल गर्न चुम्लुङलाई संयोजनकारी भूमिका खेल्न समेत अनुरोध गरिनु पर्ने निस्कर्ष निकालिएको हो । ‘पछिल्लो समय लिम्बु समुदायमा भइरहेको बहसले सबैलाई प्रभाव पारेको छ । लिम्बुवानमा रहेको महत्वपूर्ण जाति भएकोले आन्तरिक बहसमा सबैको चासो रहेकोले संयमित बहसमा उत्रन सबैलाई आग्रह गर्दै धर्म निजी स्वतन्त्रताको विषय हुनाले जाति र भाषामा भने एकरूपता कायम गरेर अघि बढ्न समाजले सबै पक्षलाई अुनरोध गर्ने सभाले निर्स्कर्श निकालेकोछ ।
विश्वब्यापी महामारिका कारण भर्चुअल(जुम) माध्यमबाट भएको साधारणसभाले लिम्बुवान नागरिक बहस श्रृङ्खलालाई समेत निरन्तरता दिने निर्णय गरेको छ । लिम्बुवानसंग सम्बन्धित विविध विषयहरू उपर प्राज्ञिक बहस गराउने उदेश्यले सन् २०१९ देखि श्रृङ्खलाको सुरुवात भै हालसम्म तीन श्रृङ्खलाहरू सम्पन्न भइसकेका छन् । यसैगरी, लिम्बुवान आन्दोलनलाई सहयोग पुर्याउन नेपालमा आफ्नो समितिलाई समेत विस्तार गरेर कार्यक्रम अघि बढाउने निर्णय भएको महासचिव लाहाङ चेम्जोङले जानकारी गराएकाछन् । उनले कोभिड महामारीले विगतका निर्णयहरूको कार्यान्वयनमा असर पुगेको भन्दै आगामी वर्षभित्र सबै निर्णयहरू लागू गरिने प्रतिबद्धता समेत व्यक्त गरे । ‘लिम्बुवान आन्दोलन लगायत लिम्बुवान प्रबर्धनका लागि कुनै पनि क्षेत्रमा लामो समयसम्म सङ्घर्ष गरेका एक व्यक्तिलाई प्रत्येक कार्यसमितिको कार्यकालको अवधिमा एक लाख रूपैयाँ राशीसहितको काङ्सोरे पुरस्कार प्रदान गर्ने र सोका लागि समाजले सातौँ साधारणसभाबाट दश लाख रूपैयाँको अक्षयकोष् स्थापना गर्ने निर्णय भईसकेको स्मरण गराए । त्यसैगरी,कोषाध्यक्ष विकास हेल्लोकले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, महासचिव चेम्जोङको साङ्गठनिक प्रतिवेदनलाई ब्रिहत छलफल पश्चात पारित गरेको थियो ।
मिडिया सचिव अमित थेवेको सम्पादनमा सङ्कलन भइरहेको लिम्बुवानी कविता सङ्ग्रहलाई पनि यथाशीघ्र प्रकाशन गर्ने सभाले निर्णय गरेको छ । स्मरण रहोस् कोभिड महामारीकै कारण काङ्सोरे पुरस्कार अक्षयकोष स्थापनार्थ आयोजना गर्ने भनिएको गत ११ एप्रिल २०२० को च्यारिटी डिनर कार्यक्रम स्थगित गरिएको थियो ।
साधारणसभामा सङ्घीय लिम्बुवान सामाजिक मञ्च यूकेका अध्यक्ष टङ्क खापुङ, लिम्बुवान समाज यूकेका अध्यक्ष दिलसिङ मेन्याङ्वो, लेखक विजय लुम्फुङ्वा, फागो चोङवाङ लिम्बु परिवार यूकेका भरत फागो चोङवाङ, लिम्बुवान नागरिक समाजका नेपाल संयोजक निलिफा सुब्बा, सल्लाहकारहरू नरेन्द्र माबोहाङ, राजेन्द्र खिम्दिङ, निर्मल पतङ्वा, दिल पालुङ्वा लगायतले सम्बोधन गरेका थिए । सभाको सञ्चालन मिडिया सचिव अमित थेवेले गरेका थिए ।
यूकेमा बसोबासरत नेपालस्थित लिम्बुवानबासीहरूको भेलाले सन् २००९ सेप्टेम्बरमा स्व. प्रसाद थेवेको अध्यक्षतामा लिम्बुवान नागरिक समाज यूके(तत्कालीन लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूके) गठन गरेको थियो जुन समय नेपालमा सङ्घीयताको आन्दोलन चर्किरहेको थियो । नेपालमा लिम्बुवान दाबी गरिएको प्रदेश एकको नाम र राजधानी अझैसम्म पनि टुङ्गो लाग्न नसकेको अवस्थामा समाजले पटकपटक विभिन्न अवसरमा पूर्वमा ऐतिहासिक शाषकीय पृष्ठभूमिका आधारमा लिम्बुवान प्रदेश कायम हुनुपर्ने माग अगाडि सार्दै आएको छ । प्रदेशको पुनः संख्याकरण र नामाकरणसहित लिम्बुवानको नाम सुनिश्चित गराउन बेलायत दुताबास लगायत १ नं प्रदेश का मुख्यमन्त्रीलाई समेत ग्यापन पत्र बुझाई सकेकोको छ ।
Comments