top of page

लिम्बुवान नागरिक समाज युकेको दसौं साधारणसभा सम्पन्न

  • Chhatra Wanem
  • Jan 18, 2024
  • 1 min read

लिम्बुवान किरात प्रदेश घोषणा गरेर जान सुझाव


लन्डन १८ जनवरी २०२४ । लिम्बुवान नागरिक समाज युकेको दसौं साधारणसभा शनिबार आस्फोर्डमा सम्पन्न भएको छ । समाजको संस्थापक नेता तथा वर्तमान सल्लाहकार निर्मल पतङवाको प्रमुख आतिथ्यमा भएको साधारणसभाले संशोधित विधान-२०१० को विमोचन पनि गरेको छ ।


अध्यक्ष छत्र वनेमको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले सचिव लाहाङ चेम्जोङले प्रस्तुत गरेका सांगठानिक प्रतिवेदनलाई प्रतिनिधिहरुले दिएको सुझावहरुलाई समेटेर पारित गर्ने निर्णय गरेको छ । त्यसैगरी, कोषाध्यक्ष सुन्दर लिङ्थेपको आर्थिक प्रतिवेदनलाई पनि सवालजवाफपश्चात् पास गरेको छ ।


सन् २००९ मा स्थापना भएको नागरिक समाजले पहिचान तथा लिम्बुवानको आन्दोलनलाई सहयोग पुग्ने कार्यक्रमहरु युकेबाटै गर्दै आइरहेको छ । कोशी प्रदेश खारेजीको आन्दोलनमा नागरिक समाजले पनि ऐक्यबद्धता जनाउँदै आइरहेको छ । समाजको यो साधारणसभाले कोशी प्रदेशको विकल्पको नाम नदिनु गल्ती भएको ठहर गर्दै ‘लिम्बुवान किरात’ घोषणा गरेर आन्दोलनमा जानुपर्ने सुझाएको छ ।


लिम्बुवानको ताप्लेजुङको मुकुम्लुङमा अवस्थित सेमुक्तु मुक्तुफोमा युमामाङ (पाथीभरा) को थानमा केवलकार बनाउनु रैथाने पहिचानमाथिको प्रहार भएको भन्दै रोक्नुपर्ने निर्णय पनि गरेको छ ।


लिम्बुवानको आन्दोलनलाई टेवा पुग्ने गरी ‘काङसोरे पुरस्कार’ सन्चालन गर्दै आइरहेको नागरिक समाजले कवितासंग्रह र स्मारिका केही महिनामै प्रकाशित गर्ने, लिम्बुवान नागरिक बहस कार्यक्रमलाई सन्चालन गर्ने र पहिचानवादीहरुको एकीकृत फोरम निर्माणमा भूमिका खेल्ने पनि साधारणसभाले निर्णय गरेको छ ।

 
 
 

Comments


bottom of page