प्रदेश १ का यी ठाउँ परे एक सय पर्यटकीय गन्तव्यको सूचीमा ?
- Limbuwan Civil Society UK
- Dec 28, 2020
- 1 min read

तेह्रथुम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयले सार्वजनिक गरेको सूचीमा प्रदेश १ का १४ वटै जिल्ला समेटिएको छ । नयाँ पर्यटकीय गन्तव्यका रूपमा ती छनौटमा परेका हुन् ।
मन्त्रालयले सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्य सूचीमा सम्भव भएसम्म प्रत्येक जिल्लामा एउटा पर्यटकीय गन्तव्यलाई विकास गर्ने नीति लिएको जनाइएको छ । मन्त्रालयले ताप्लेजुङको साँवा गाउँपालिकामा रहेको पाथीभरा र फुङफुङे झरना, सिदिंग्वा गाउँपालिकामा रहेको तिम्बुङ पोखरी, पाँचथरको फिदिम नगरपालिकामा रहेको गुरु फाल्गुनन्द सर्किट, इलामको सन्दकपुर गाउँपालिकामा रहेको सन्दकपुर माइपोखरी र संखुवासभाको अरुण उपत्यकालाई स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यको सूचीमा राखेको छ ।
त्यस्तै धनकुटाको साँघुरीगढी गाउँपालिकामा रहेको नमस्ते झरना, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमास्थित टिएमजे क्षेत्र, भोजपुरको ट्याम्के डाँडा, खोटाङको हलेसी महादेव र बराह पोखरीलाई पनि विकास गरिनुपर्ने नयाँ पर्यटकीय गन्तव्य सूचीमा राखेको छ । त्यस्तै सोलुखुम्बुको स्याङबोचे र सगरमाथा, मोरङको धनपालगढी, सुनसरीको कोसीटप्पु बन्यजन्तु आराक्ष, धरान र बराह क्षेत्रलाई प्रवद्र्धन गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा राखिएको छ ।
‘नेपाल भ्रमण वर्ष’ २०१८ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य साथ देशभरका नयाँ पर्यटकीय गन्तव्यको खोजी गरिएको मन्त्रालयले जनाएको छ । नयाँ पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्न सरकारले यो वर्ष ५० करोड छुट्याएको छ ।
Yorumlar