गौचरणको रुपमा रहेका जिल्लाकै सुख्खा डाँडाहरु बन्न थाले अाम्दानीको दरीलो स्रोत
- Limbuwan Civil Society UK
- Dec 28, 2020
- 1 min read

संखुवासभा, ११ फागुन । पानीको समस्या तथा बाँदर आतंकले गौचरणको रुपमा परिणत भएका सुख्खा ,थुम्की परेका डाँडाहरु आज भोली दरीलो आम्दानीको स्रोत बन्न थालेका छन् । संखुवासभा जिल्लाको चैनपुर नगरपालिका १० को बानेश्वर र खराङ क्षेत्र जिल्लाकै सुख्खा क्षेत्रको रुपमा परिचित छन् । त्यस क्षेत्रका थुम्की परेका डाँडाहरुमा आजभोली अर्थोडक्स चियाको खेती हुन्छ । किसानले पनि मनग्य आम्दानी गर्न थालेका छन् ।
पहिले पहिले सुख्खा क्षेत्रमा हुने मकै, बदाम, भटमास जस्ता अन्न बालीको खेती हुन्थ्यो । त्यसबेला बाँदर खुब सताउँथ्यो । वर्षभरी मिहेनत गरेपनि बाँदरका कारण मिहेनत अनुसारको बाली भित्राउन किसानले पाउँदैन थिए । बाँदरकै कारण कतिपय किसान बसाई सरेका थिए । तर पछिल्लो समय अर्थोडक्स चियाको खेती शुरु भए सँगै गौ चरणको रुपमा रहेका डाँडाहरु हरियाली बन्न थालेका छन् ।
व्यवसायिक चिया खेतिबाट किसानलाई पनि राम्रो फाईदा पुगेको चैनपुर १० खराङ का चिया कृषक घननाथ त्रिताल बताछन् । पुर्वमा मादी नगरपालिका, पश्चिममा भोजपुरका प्याउली र जरायोटार उत्तरमा सदरमुकाम खाँदबारी र संसारकै गहिरो अरुण उपत्यका तथा दक्षिणमा तराईका मैदानी भुभागहरुको समेत दृश्यावलोकन गर्न सकिने यस क्षेत्रमा अर्थोडक्स चियाको साथै आन्तरीक तथा बाह्य पर्यटनको सम्भावना बढेको छ ।
अब होमस्टेका साथै सुविधा सम्पन्न होटल संचालनको सम्भावना खोज्नु पर्ने स्थानीय शिक्षक केशव काफ्ले बताउछन्। पर्यटकिय हिसावले महत्वपूर्ण यसक्षेत्रमा सम्भावनाहरु प्रशस्तै छन् । त्यसैले व्यवसायीहरु पनि यस क्षेत्रमा लगानी गर्न उत्साहित देखिएका छन् ।
हरियाली चिया बगानका साथै दृश्यावलोकनका लागि पनि राम्रो स्थान भएकाले रिसोर्ट संचालन गर्ने सोंच बनाएको नेपाल चाईना उद्योग बाणिज्य संघ च्याप्टर संखुवासभाका अध्यक्ष पाशाङ शेर्पाको भनाई छ ।
कृषी तथा पर्यटन क्षेत्रको विकासका लागी सरकारले उचित नीति बनाई थप लागानीको वातावारण सिर्जना गर्न सके जिल्लाको आर्थिक विकासमा समेत टेवा पुग्ने स्थानीयहरु बताउँछन् । साभार: साझापोस्ट डट् काम
Comments